९ भदौ, काठमाडौं । नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ ।
भारत सरकारले प्रसारणलाइन प्रयोगको अनुमति दिएमा एनभीभीएनमार्फत विद्युत व्यापार सुरु गरिहाल्ने सहमति भएको छ । भारतले आफ्नो नोडल एजेन्सीमार्फत भारत हुँदै दुई देशबीच आफ्ना पूर्वाधार प्रयोग गरेर बिजली व्यापारको अनुमति दिन सक्छ । तर, अहिलेसम्म भारतले यसमा सहमति जनाएको छैन ।



