१० भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दशैं–तिहारको समयमा कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार संघ, प्रदेश, स्थानीय तह समन्वय समितिको बैठकमा बोल्दै मन्त्री बडूले चाडपर्वमा कालोबजारी रोक्न स्थानीय तहले बजार अनुगमनमा जोड दिन आवश्यक रहेको बताए ।
चाडपर्वको समयमा बजारमा कालोबजारी, मूल्यवृद्धि रोक्नका लागि संघ, प्रदेश र स्थानीय तहले प्राथमिकता दिएर बजार अनुगमन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । मन्त्री बडूले बजार अनुगमनका लागि अहिले स्थानीय तह र प्रदेश सरकारलाई कानुनी समस्या नरहेको बताए । उनले प्रदेश सरकारलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६३ ले अनुगमन सम्बन्धी कानुन बनाउने अधिकार दिएको बताए ।



