कान्जिरोवापोष्ट श्रावण ०३,डोल्पा ।
काठमाडौमाको भिर्कुटी मण्डपको टुरिजम बोर्डमा बिहिवार १२/१२ बर्षको अन्तरालमा हुने माथिल्लो डोल्पाको शे मेलाको ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गरिएको छ । बिहिबार काठमाण्डौमा पत्रकार सम्मेलनमा सबै तयारी पुरा भएको र अब सरकारले मेला सफल पार्नको लागि सम्पूर्ण कुरामा साथ दिनुपर्ने शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यसबारे जानकारी दिए ।
भदौ १६ गते देखि २१ गतेसम्म ६ दिन शेल सुम्दो गुम्बामा आयोजना गरिने उक्त मेलामा धार्मिक प्रवचन देखि सांस्कृतिक कार्यक्रम, घोडा दौड लगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने विभिन्न गतिविधि सञ्चालन हुने आयोजकले बताएका छन् । मेलाको अवसरमा तिलगङ्गा आखाँ प्रतिष्ठानसँग सहकार्यमा निशुल्क आँखा उपचार तथा शल्यक्रिया देखि स्वास्थ्योपचार लगायतका शिविर समेत राखिने अध्यक्ष गुरुङले बताए ।
पत्रकार सम्मेलनमा सङ्घीय सांसद उप सभामुख इन्दिरा राना मगरले डोल्पा प्राकृतिक रुपमा निकै सुन्दर रहेको बताउँदै यस्ता धार्मिक मेला र पर्वले त्यहाँको धर्म, संस्कृति र जनजीवनका बारेमा बुझ्न एकपटक डोल्पा पुग्नपर्ने बताइन । रानाले भनिन म पटक पटक डोल्पा पुगेको छु तर जति पटक डोल्पा पुग्दा पनि मन कहिले थाक्दैन डोल्पाको पर्यटन । यो सुनौलो अवसर हो यहि मौकामा हरेक नेपाली शे मेलामा पुग्न जरुरी छ सबैले डोल्पा पुग्ने आँट गरे जिवनको अमुल्य अनुभुति महसुस गर्न पाउनुहुनेछ उपसभामुख रानाले उत्साह जगाईन । राना आफैपनि शे मेलामा हिडेरै पुग्ने र अरु सबैलाई डोल्पा सदरमुकामबाटै भएपनि हिडेर फोक्सुण्डो ताल हुदै शे मेलामा पुग्न आग्रह समेत गरिन ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिम्मत सिंह ऐरले पर्यटन विकासका हिसावले निकै महत्वपूर्ण मानिएको डोल्पामा हुन गइरहेको यो मेला धार्मिक महत्वका हिसावले मात्रै नभएर साँस्कृतिक हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले भने, यस्ता मेलाको प्रचार प्रसार गर्न सके यसले पर्यटन विकासमा कोशेढुंगाको काम गर्न सक्छ ।
खस तथा मस्टो संस्कृति, तराली संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदीबाट अलौकिक अनुभुति लिन सकिने आयोजकले बताएका छन् । ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करिव १५ हजारभन्दा बढि मानिसहरको उपस्थिति हुने अपेक्षा आयोजकले गरेका छन् । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाहरूको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
यसले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान मिल्ने बताए । उनले भने, यो केवल मेला मात्रै नभई विश्व सामु हाम्रो भूगोल, सांस्कृतिक, कला, ऐतिहासिक मूल्य मान्याताका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सुन्दरतालाई भरपुर प्रयोगमा ल्याई डोल्पाको भविष्यसँग जोडिएको एउटा महत्वपूर्ण क्षण पनि हो। त्यसैले यसलाई सफल बनाउन सबैको साथ र सहकार्यको खाँचो रहेको आयोजकले सम्मेलनमा बताएको छ ।